भैरहवा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षा हुने बताएको छ। यस अवधिमा नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतराको तह नजिक पुग्न सक्नेछ।
जोखिममा रहेका क्षेत्रहरू:
- बागमती प्रदेश: काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन।
- कोशी प्रदेश: सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ।
- मधेस प्रदेश: बारा, पर्सा, सर्लाही, रौतहट।
- यी क्षेत्रमा आकस्मिक बहाव र डुबानको जोखिम उच्च रहेको प्राधिकरणले जनाएको छ।
थप सावधानीहरू:
- दसैँको भिडभाडलाई ध्यानमा राख्दै अत्यावश्यक नभई घरभन्दा टाढा र विशेष गरी राति यात्रा नगर्न आग्रह गरिएको छ।
- सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यकता अनुसार सवारी सञ्चालनमा रोक लगाउन सक्नेछ।
- पहिरो र नदी किनारका बस्तीहरूलाई विशेष सतर्कता अपनाउन तथा डुबान हुने सम्भावित बस्तीका बासिन्दालाई सुरक्षित स्थानबारे अग्रिम जानकारी लिन र दिन भनिएको छ ।
प्राधिकरणले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र सरोकारवाला संस्थाहरूलाई पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सक्रिय रहन निर्देशन दिएको छ। जोखिमयुक्त सडक र राजमार्गमा तुरुन्त परिचालनका लागि डोजर, एक्साभेटर, लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्न पनि सूचनामा उल्लेख छ।