कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एक्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको पाख्रीबास नगरपालिका–८ घर भई आयोजनामा कार्यरत २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार दुवै जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा परी इलाम घर भएका ३२ वर्षीय भक्तबहादुर मगर घाइते हुनुभएको छ । उहाँको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र घुँडामा चोट लागेको प्रहरीले जनाएको छ ।
आज बिहान करिब ११ः०० बजे जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणका लागि सडक खन्ने काम भइरहेका बेला माथिबाट अचानक पहिरो खसेको थियो । पहिरोमा परेका कामदारलाई घटनालगत्तै स्थानीयवासी र प्रहरीले उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याएका थिए । सुपर सेती जलविद्युत् आयोजना कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २४ मेगावाट क्षमताको आयोजना हो ।