साना किसान कृषि सहकारीको अध्यक्षमा पुनः गुल्जारी

Ujyalosandeshonline 11144+ समाचार ( )
१० फाल्गुन २०८०, बिहीबार

मर्चवार । साना किसान कृषि सहकारी संस्था लिमिटेड गोनहाको अध्यक्षमा पुनः ओम प्रकाश यादव (गुल्जारी) निर्वाचित भएका छन् । बिहिबार सम्पन्न संस्थाको २० औं वार्षिक साधारण सभा तथा पाचौं अधिवेशनले आगामी ४ बर्षे कार्यकालको लागि पुनः यादवकै नेतृत्वमा कार्यसमिति चयन गरेको हो । 

समितिको उपाध्यक्षमा अनुरुध प्रसाद बनिया रहेका छन् । यस्तै सदस्यहरुमा राम कुमार यादव, दिनेश बरई, संगिता यादव, शोभा यादव, कमला यादव र भगवानदास कुर्मि रहेको संस्थाका ब्यवस्थापक अभय तिवारीले जानकारी दिए । 

संस्थाको २० औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य वसिउद्दिन खाँनले ढुक्क भएर साना किसान कृषि सहकारीमा लगानी गर्न आग्रह गरे । उनले सहकारीहरुबारे बजारमा अनावश्यक हल्ला फैलाईएको बताउदै यसबाट जोगिन शेयर सदस्यहरुलाई आग्रह गरे । ३ हजार ६ सय बढी शेयर सदस्य रहेको सहकारी त्यसै जोखिममा नपर्ने उनले जिकिर गरे । सहकारीमा सहकारी बिभाग संगै अन्य धेरै निकायहरुको अनुगमनकारी भूमिका रहेको हुदा नडराउन उनले शेयर सदस्यहरुलाई आग्रह गरे । 

प्रदेश सांसद खाँनले प्रदेश सरकारको औचित्य पुष्टि गर्दै यसले सरकार र जनतालाई सिधा जोडेको बताए । मर्चवारको विकासमा २ अर्ब भन्दा बढीको लगानी गरिसकेको बताउदै उनले मर्चवारमा क्याम्पस, पुल देखि बाटोमा प्रदेश सरकारले लगानी गरेको दावी गरे । उनले मर्चवारको लाइफलाईनको रुपमा रहेको ४ लेनको बाटो बिभिन्न अवरोधहरु पन्छाई सम्पन्नता उन्मुख रहेको बताए । सोही बाटोलाई आगामी बर्ष देखि खैराघाट सम्म पुग्ने गरि बजेट बिनियोजनको तयारी भईरहेको उनले जानकारी दिए । 

पूर्व कृषि राज्यमन्त्री समेत रहेका सहकारीका अध्यक्ष ओमप्रकाश यादव (गुल्जारी) ले केहि अवाञ्छित तत्वहरु दुख दिने नियतका साथ अनावश्यक हल्ला फैलाएको गुनासो गरे । उनले आर्थिक मन्दीको मौका छोपी सहकारीलाई सकाउने खेल भए पनि आफुले त्यसलाई असफल बनाइ दिएको दावी गरे ।“यस बिच बिभिन्न प्रकारका मुद्दा, उजुरी दिई दुख दिनेहरु आए,” यादवले भने “सहकारीको काम पारदर्शी र स्पष्ट रहेको कारण त्यस्ता आरोपहरुबाट जोगिएका छौं ।”

उनले सहकारीका सदस्यहरुलाई उनिहरुले खोजेकै आधारमा बचत तथा ऋण लगानी गरेको बताए । यादवले पनि  साना सहकारी अन्य सहकारीहरु भन्दा फरक प्रकृतिको सहकारी संस्था रहेको बताए । सरकारको प्रत्यक्ष निगरानीमा रहेको साना सहकारीहरुमा कसैले पनि अनियमितता गर्न नसक्ने उनको जिकिर थियो । 

सहकारीका ब्यवस्थापक अभय तिवारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मायादेवी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शैलेन्द्र कुमार पाण्डे, साना किसान लघुवित्तका बुटवलका शाखा प्रवन्धक गणेश प्रसाद भट्टराई, अधिकृत निरन्जन निषाद लगायतले बोलेका थिए । 


प्रतिक्रिया

सम्बन्धित समाचार