भारत । बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुन लागेको तेस्रो 'लुम्बिनी न्यूज फेस्टिवल' लाई भव्य बनाउन भारतीय सञ्चारकर्मीहरूले ऐक्यबद्धता जनाउँदै पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आयोजनामा आगामी पुस १२, १३ र १४ गते हुने यस महोत्सवले सीमावर्ती क्षेत्रका समाचारजन्य मुद्दाहरू र लुम्बिनीको पर्यटन प्रबद्र्धन गर्ने मुख्य उद्देश्य राखेको छ ।
भारतको सुनौलीमा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महाराजगंज प्रेस क्लबका अध्यक्ष अमित त्रिपाठीले महोत्सवलाई भव्य तुल्याउन आफूहरूले सबै किसिमको सहयोग गर्ने बताए । उनले दुई देशको पत्रकारिता अभ्यास, सीमा क्षेत्रका जल्दाबल्दा मुद्दा र पर्यटन विकासका लागि यो फेस्टिवल महत्वपूर्ण हुने उल्लेख गरे । त्रिपाठीका अनुसार दुई देशका पत्रकार, निजी क्षेत्र र सरकारी निकायबीच हुने यस प्रकारको बहसले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्याउन मद्दत पुग्नेछ । सोही अवसरमा भारतीय पत्रकारहरू आलोक जोशी र सुदेश त्रिपाठीले न्यूज फेस्टिवलले दुवै देशका नयाँ सञ्चार अभ्यास र सीमा क्षेत्रका समस्या उजागर गर्ने विश्वास व्यक्त गर्दै आवश्यक सहयोगका लागि आफूहरू तयार रहेको बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले तेस्रोपटक आयोजना हुन लागेको यो समाचार महोत्सवलाई ऐतिहासिक र उपलब्धिपूर्ण बनाउन क्लब लागिपरेको जानकारी दिए । उनले महोत्सवमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका विविध आयामका बारेमा घनिभूत छलफल, बहस र अन्तरक्रिया हुने बताए । यस कार्यक्रमले पत्रकारिताको असल अभ्यासलाई आत्मसात गर्दै आगामी कार्यदिशा तय गर्न समेत मार्गप्रशस्त गर्ने उनको भनाइ छ । कार्यक्रम संयोजक एवं क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले महोत्सवमा समाचारका विभिन्न विधामाथि विमर्श गरिने बताउँदै यसले नेपाली पत्रकारिताको इतिहासको समीक्षा, वर्तमान अवस्थाको चित्रण र भविष्यको मार्गचित्र तयार गर्न योगदान दिने अपेक्षा गरिएको स्पष्ट पारे ।
यस तीन दिने महोत्सवमा भारतको महाराजगंज, लखनउ, बनारस, अयोध्या, दिल्ली, गोरखपुर र सिक्किमका पत्रकारहरूको सहभागिता रहनेछ । साथै, काठमाडौंका पत्रकार तथा नेपालका विभिन्न जिल्लाबाट प्रतिनिधिमूलक रूपमा पत्रकारहरू सहभागी हुनेछन् । फेस्टिवलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, पूर्वमन्त्री, स्थानीय तहका जनप्रतिनिधिहरू, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारीहरू, मूलधारका सम्पादकहरू, जिल्ला सभापतिहरू, पर्यटन व्यवसायी, उद्योगी र कर्मचारीहरूको समेत बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ । १२ वर्षअघि स्थापना भएको लुम्बिनी प्रेस क्लबले यसअघि २०७६ र २०८० सालमा पनि न्यूज फेस्टिवल सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।