रुपन्देही । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि बुटवलमा मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन सुरु भएको छ । सोही क्रममा आइतबार विभिन्न विषयमा छलफल गरिएको छ । आर्थिक संकटमा मिडिया, अबको बाटो विषयमा आइतबार आयोजित छलफल कार्यक्रममा सहभागीले विशेष गरी कोभिडपछि मिडिया क्षेत्र संकटमा परेको बताएका छन् । कार्यक्रममा कान्तिपुर मिडिया गु्रपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँरले कोभिड अघिका वर्षमा सबैभन्दा राम्रोसँग मिडिया सञ्चालन भएको बताउनुभयो ।
‘मिडियाको उत्थानका लागि कुनै सरकारले खासै काम गरेको जस्तो लाग्दैन । समयअनुसार अघि बढ्नुपर्छ । पुस्ताको माग अनुसार जानुपर्छ । पत्रकारिता के हो भन्नेबाट कुरा सुरु गर्नुपर्छ । पत्रकार युटुबर्स होइन, ’उहाँले भन्नुभयो । अझ सशक्त पत्रकारिता गर्ने बेला आएको उहाँले बताउनुभयो । ’पत्रकारिता हिजो, आज र भोली रहनेछ, ’उहाँले भन्नुभयो । त्यस्तै बुटवल टुडेका प्रबन्ध सञ्चालक नवराज कँुवरले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने हो भने निःशुल्क प्रकाशन गर्नुपर्ने बताउनुभयो ।
सरकारको यो निर्णयले भ्रष्टाचारलाई बढावा दिएको उहाँले बताउनुभयो । ‘विज्ञापन बिना कसरी मिडिया चल्छ ? समग्रमा हेर्नुपर्छ । सरकारले निजी सञ्चार माध्यमलाई विज्ञापन नदिनु भनेको भ्रष्टाचारलाई बढावा दिनु हो, ’ उहाँले भन्नुभयो ।नेपालगञ्ज दैनिकका सञ्चालक झलक गैरेले वर्तमान सरकारप्रति गम्भिर आशंका रहेको बताउनुभयो । ‘सरकार जुन नियतले अघि बढेको छ, त्यसले निजी क्षेत्रले जिस्काएको छ, ’उहाँले भन्नुभयो । मिडिया संस्थागत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कोभिडपछि आर्थिक क्षेत्र प्रभावित भएको र त्यसपछि मिडियामा विज्ञापन घटेको गैरेले बताउनुभयो ।
न्यूज एजेन्सी नेपालको अध्यक्ष कृष्णा पौडेलले मिडिया हाउस जति बलियो र स्थायीत्व हुन्छ, त्यत्ति नै न्यूज एजेन्सी बलियो हुने कुरा निर्धारण हुने बताउनुभयो । ‘मिडिया बलियो हुनुपर्छ भन्नेमा दुइमत नै छैन, ’उहाँले भन्नुभयो । मिडिया जोखिममा परेको उहाँले बताउनुभयो । संकटको बेला मिडियालाई कसरी दिगो सञ्चालन गर्न सकिन्छ भन्ने कुरा जान्न इन्टरनेशनल मोडल हेर्नुपर्ने पौडेलले बताउनुभयो । कार्यक्रमको सहजीकरण पत्रकार नरेश के.सी.ले गर्नुभएको थियो ।