प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

Ujyalosandeshonline 11988+ समाचार ( )
२५ श्रावण २०८३, सोमबार

लमजुङ । कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका कुण्ड, धार्मिक तथा ऐतिहासिक स्थल र मौलिक संस्कृति । प्रकृति, संस्कृति र इतिहासको यही विविधताले लमजुङको मर्स्याङ्दी  गाउँपालिकालाई पर्यटकीय सम्भावनाले भरिएको क्षेत्रका रूपमा चिनाएको छ । मर्स्याङ्दी  गाउँपालिकाका विभिन्न स्थानमा रहेका प्राकृतिक तथा धार्मिकस्थल आन्तरिक पर्यटकका लागि आकर्षणका केन्द्रसमेत बन्न थालेका छन् । 

वडा नं ४ जगतमा रहेको तातोपानी कुण्डमा नुहाउन तथा प्राकृतिक वातावरणको आनन्द लिन मानिसहरू पुग्ने गरेका छन् । वडा नं ६ बाहुनडाँडामा रहेको तातोपानी कुण्ड पनि पर्यटकीय सम्भावना बोकेको स्थल हो । प्राकृतिक रूपमा निस्कने तातोपानीमा स्नान गर्दा विभिन्न रोग निको हुने जनविश्वास रहँदै आएको छ । त्यस्तै गाउँपालिकाका विभिन्न डाँडाकाँडाबाट हिमशृङ्खला तथा आसपासका मनोरम भूदृश्यावलोकन गर्न सकिन्छ । वडा नं ३ मा रहेको हर्सिङडाँडा प्राकृतिक दृश्यावलोकनका साथै ऐतिहासिक महत्व बोकेको स्थल हो । 

राष्ट्रिय विभूति भक्ति थापाले बाल्यकालमा गाईवस्तु चराएको स्थानका रूपमा समेत हर्सिङडाँडालाई लिइन्छ । ऐतिहासिक व्यक्तित्वसँग जोडिएको यो स्थललाई पर्यटनसँग जोडेर विकास गर्नसके थप पर्यटक आकर्षित गर्न सकिने स्थानीयको विश्वास छ । मर्स्याङ्दी गाउँपालिकाको पर्यटन प्राकृतिक सम्पदामा मात्र सीमित छैन । यहाँको मौलिक संस्कृति पनि अर्को महत्त्वपूर्ण आधार हो । विभिन्न समुदायले मनाउने चाडपर्व तथा परम्परागत नाचगानले स्थानीय सांस्कृतिक पहिचानलाई जीवन्त बनाएको छ । 

घाँटु, सोरठी, कृष्णचरित्र, बालन, झ्याउरे, तामाङ सेलोलगायतका सांस्कृतिक गतिविधिलाई पर्यटनसँग जोड्न सके स्थानीय कला र संस्कृतिको संरक्षणसँगै आम्दानीको स्रोत बनाउन सकिने उत्तिकै सम्भावना छ । गाउँपालिकाका विभिन्न वडा यी पर्यटन तथा यातायात मार्गसँग जोडिएकाले मनाङतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिकस्थलतर्फ आकर्षित गर्न सकिने अवस्था छ । 

विशेषगरी पर्यटकीय मौसममा अन्नपूर्ण पदमार्ग हुँदै आउने विदेशी पर्यटक तथा मनाङ जाने यात्रीलाई स्थानीय गन्तव्यसँग जोड्न सके पर्यटनको लाभ गाउँपालिकाका विभिन्न बस्तीमा पुर्याउन सकिन्छ । स्थानीयवासी पूर्णबहादुर गुरुङ मर्स्याङ्दी गाउँपालिका प्राकृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको क्षेत्र भएकाले यसको सम्भावनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुहुन्छ । पर्यटकीय सम्भावना भएका स्थानको पहिचान गरी संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकासमा थप ध्यान दिन सके स्थानीयले त्यसबाट लाभ लिन सक्ने उहाँको भनाइ छ । 

हर्सिङडाँडाको पर्यटकीय सम्भावनालाई स्थानीयस्तरबाटै उपयोग गर्न थालिएको छ । ऐतिहासिक व्यक्तित्व भक्ति थापासँग जोडिएको स्थल भएकाले पर्यटक आकर्षित गर्न आफूले त्यहाँ पर्यटनलक्षित व्यवसाय सञ्चालन गर्दै आएको पूर्णबहादुरले बताउनुभयो । प्राकृतिक सौन्दर्य र ऐतिहासिक पहिचानलाई एकैसाथ उपयोग गर्न सके हर्सिङडाँडा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने उहाँको विश्वास छ । मर्स्याङ्दी गाउँपालिकामा सडक तथा अन्य पूर्वाधार विस्तार भइरहेकाले पर्यटन विकासका लागि थप आधार तयार हुँदै गएको छ । 

पर्यटकीयस्थलसम्म सहज पहुँच, पदमार्ग, खानेपानी, शौचालय, सरसफाइ, सूचना केन्द्र, सङ्केतचिह्न र घरबासलगायतका पूर्वाधारलाई व्यवस्थित बनाउन सके यहाँको पर्यटनले थप गति लिनसक्छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ मर्स्याङ्दी गाउँपालिका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको बताउनुहुन्छ । यस्ता सम्पदाको संरक्षण र प्रवर्द्धनसँगै प्रचारप्रसारलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।

पर्यटक आकर्षित गर्ने कार्यक्रम सञ्चालन, आवश्यक पूर्वाधार निर्माण तथा पर्यटकीयस्थलसम्म यातायात सेवा विस्तारमा गाउँपालिकाले ध्यान दिइरहेको उहाँको भनाइ छ । “यहाँका सम्पदाको संरक्षणसँगै व्यापक प्रचारप्रसार, आवश्यक पूर्वाधार निर्माण र यातायात पहुँच विस्तार गरी पर्यटक आकर्षित गर्ने वातावरण बनाउन गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ”, अध्यक्ष गुरुङले भन्नुभयो । 

अन्नपूर्ण पदमार्ग र बेँसीसहर–चामे सडकसँगको पहुँचलाई स्थानीय पर्यटकीय गन्तव्यसँग जोड्दै संरक्षण, पूर्वाधार विकास, स्थानीय समुदायको सहभागिता र व्यवस्थित प्रचारप्रसारलाई सँगसँगै अघि बढाउन सके मर्स्याङ्दी  लमजुङकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुनसक्ने सम्भावना छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार