अर्घखाँची जिल्लाको शान्ति सुरक्षा, आगामी निर्वाचनको तयारी र बढ्दो सडक दुर्घटना न्यूनीकरणका विषयमा जिल्ला प्रहरी कार्यालय अर्घखाँचीले विशेष सक्रियता देखाएको छ । जिल्लाको भौगोलिक अवस्था र सामाजिक परिवेशलाई मध्यनजर गर्दै प्रहरीले नयाँ सुरक्षा रणनीतिहरू अवलम्बन गरेको छ । यसै सन्दर्भमा जिल्लाको वर्तमान सुरक्षा अवस्था, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण र प्रहरी संगठन भित्रको पारदर्शिताका विषयमा जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) दिवस बहादुर जि.सी.सँग विवेक विश्वकर्माले गर्नुभएको कुराकानीको सम्पादित अंश :
अर्घखाँची जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था कस्तो छ ?
अहिले समग्रमा भन्नुपर्दा जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य र सन्तोषजनक छ । नागरिकहरू ढुक्कसँग आफ्नो दैनिकी सञ्चालन गर्न र आवतजावत गर्न सक्ने वातावरण छ । पछिल्लो समय जिल्लामा ठूला प्रकृतिका आपराधिक घटनाहरू भएका छैनन् । यद्यपि, आत्महत्या र केही सामाजिक अपराधका घटनाहरू भने हाम्रासामु चुनौतीका रूपमा रहेका छन्, जसलाई न्यूनीकरण गर्न हामी प्रयासरत छौँ ।
नजिकिँदै गरेको निर्वाचनका लागि सुरक्षा तयारी कसरी अगाडि बढाइराख्नु भएको छ ?
हामीले केन्द्रको निर्देशन र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार निर्वाचन केन्द्रित सुरक्षा रणनीति तयार पारिसकेका छौँ । निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन राजनीतिक दलहरूबाट पनि सकारात्मक प्रतिबद्धता प्राप्त भएको छ । जनशक्ति व्यवस्थापनको कुरा गर्दा, निर्वाचन प्रहरी भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अर्घखाँचीका लागि स्वीकृत १,१७९ निर्वाचन प्रहरी र ९६ सशस्त्र तर्फ प्रहरी गरी कुल १,२६५ जनाको छनोट प्रक्रिया अन्तर्गत अहिले शारीरिक तन्दुरुस्ती परीक्षा सञ्चालन भइरहेको छ ।
जिल्लामा सडक सुरक्षा र विशेष गरी ‘टिपर आतंक’ को जनगुनासो सुनिन्छ, यसलाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?
सडक सुरक्षा हाम्रो उच्च प्राथमिकतामा छ । तीव्र गति नियन्त्रण गर्न हामीले ‘टाइम कार्ड’ लागू गरेका छौँ भने ओभरलोड बोक्ने सवारीलाई कडा कारबाही भइरहेको छ । यहाँको सडक साँघुरो भएकाले टिपरहरूका कारण दुर्घटनाको जोखिम बढेको गुनासोलाई सम्बोधन गर्न हामीले नयाँ नियम बनाएका छौँ । अब तीनवटा टिपर सँगै लाइन लागेर हिँड्न पाउने छैनन्, बढीमा दुईवटा मात्र सँगै हिँड्न पाउने छन् । यदि तीनवटा टिपर सँगै देखिएमा ट्राफिक नियम अनुसार जरिवाना गरिनेछ ।
सुपा देउरालीमा हुने दर्शनार्थीहरूको भीड र ट्राफिक जामको व्यवस्थापन कसरी भइरहेको छ ?
सुपा देउराली धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण स्थल हो । त्यहाँ मन्दिर व्यवस्थापन समिति र स्थानीय निकायसँगको समन्वयमा ट्राफिक प्रहरी दिनभर परिचालन गरिन्छ । साँझ ५ बजेपछि मन्दिर बन्द हुने व्यवस्था छ । भौगोलिक विकटताले पार्किङमा केही समस्या देखिएको छ । यसको दीर्घकालीन समाधानका लागि ‘नरपानी’ क्षेत्रमा पार्किङ स्थल निर्माण गरी त्यहाँबाट सवारी साधनमार्फत दर्शनार्थीलाई मन्दिरसम्म ल्याउने÷लैजाने योजनाबारे छलफल भइरहेको छ ।
युवा पुस्तामा बढ्दो लागुऔषधको समस्या र अपराध नियन्त्रणमा प्रहरीको भूमिका कस्तो छ ?
लागुऔषध नियन्त्रणका लागि हामीले ‘र्यान्डम चेकिङ’ (Random Checking) र विशेष अपरेशन सुरु गरेका छौँ । विशेषगरी बुटवल र कृष्णनगरबाट भित्रिने सवारी साधनहरूमा निगरानी बढाइएको छ । पुराना प्रयोगकर्ता र शंकास्पद व्यक्तिहरूको तथ्याङ्कका आधारमा सुक्ष्म अनुसन्धान भइरहेको छ । साथै, विद्यालय सम्पर्क कार्यक्रम र समुदाय–प्रहरी साझेदारीमार्फत अभिभावक र विद्यार्थीहरूमा चेतना फैलाउने काम पनि भइरहेको छ ।
प्रहरी भित्रै हुने अनियमितता र नागरिकको गुनासो सुनुवाइको संयन्त्र के छ ?
मेरो स्पष्ट नीति छ— आर्थिक अनियमितता र भ्रष्टाचारमा ‘शून्य सहनशीलता’ (Zero Tolerance)। यदि कोही प्रहरी कर्मचारी आर्थिक प्रलोभनमा परेको प्रमाण भेटिएमा प्रहरी ऐन बमोजिम कडा कारबाही गरिनेछ । म नागरिकहरूलाई आग्रह गर्दछु, यस्ता सूचना सिधै मेरो व्यक्तिगत मोबाइल नम्बरमा दिनुहोस् । हाम्रो कार्यालयको फोन २४सै घण्टा खुला रहन्छ । अर्घखाँचीमा २६ वटा प्रहरी युनिटमार्फत हामी गाउँ–गाउँमा सेवा दिइरहेका छौँ, हामी सदैव जनताको सेवकका रूपमा काम गर्न प्रतिबद्ध छौँ ।
अन्त्यमा, जिल्लावासीलाई के भन्न चाहनुहुन्छ ?
आसन्न निर्वाचन नजिकिँदै गर्दा म सम्पूर्ण राजनीतिक दल र आम नागरिकलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्दछु । शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि गतिविधि नगर्नुहोला । प्रहरी तपाईँहरूको सुरक्षाका लागि हो, कुनै समस्या परेमा वा प्रहरीबाटै गल्ती भएमा निर्धक्क भएर जानकारी गराउनुहुन म अनुरोध गर्दछु ।