हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका एक जना पुरुष होटलमा मृत फेला परेका छन् ।मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौडा उपमहानगरपालिका–२ स्थित पल्पसा प्याराडाइज होटलको कोठामा काठमाडौं महानगरपालिका–७ चाबहिल निवासी ४७ वर्षीय अजय मानन्धर मृत फेला परेका छन् ।
उनी गत असोज २७ गतेदेखि होटलको तेस्रो तल्लाको ४०५ नम्बर कोठामा बसिरहेका थिए । कार्तिक २ गते दिउँसो करिब ४ बजे मानन्धरका साथीहरूले फोन गर्दा नउठेपछि होटलमा गई हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए । घटनाबारे जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रारम्भिक अनुसन्धानबाट मानन्धर मामाघर आएको र पहिले पनि हेटौडा आउँदा सोही होटलमा बस्ने गरेको खुलेको छ । मृतकको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ । घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।