भैरहवा। आन्तरिक तथा क्षेत्रीय पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नेपाः ट्राभल्स एण्ड टुर्सले सहुलियतपूर्ण पर्यटन प्याकेज सार्वजनिक गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल को नियमित सञ्चालनसँगै पर्यटन गतिविधिलाई गति दिन लक्षित गर्दै कम्पनीले भैरहवामा पत्रकार सम्मेलन गरी नयाँ योजना घोषणा गरेको हो ।
कम्पनीका सञ्चालक सञ्जय बजिमयले कोभिड–१९ पछि पर्यटन क्षेत्रमा आएको सुस्ततालाई चिर्न सहुलियतपूर्ण प्याकेजहरू ल्याइएको जानकारी दिए । उनका अनुसार विदेशी पर्यटकलाई लक्षित गरी न्यूनतम ९९ अमेरिकी डलरमा दुई रात तीन दिनको प्याकेज उपलब्ध गराइएको छ । उक्त प्याकेजमा ट्विन सेयरिङमा तीनतारे होटल, निजी सवारी साधनमार्फत आवतजावत लगायत सुविधा समावेश गरिएको छ ।
नेपाली पर्यटकका लागि न्यूनतम ९ हजार ९९९ रुपैया तथा भारतीय पर्यटकका लागि ९ हजार ९९९ भारतीय मुद्रा बराबरको विशेष प्याकेज तय गरिएको बजिमयले जनाए । यी प्याकेजहरुमा लुम्बिनी, काठमाडौँ, पोखरा, चितवन राष्ट्रिय निकुञ्ज, पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर तथा जनकपुर जस्ता प्रमुख पर्यटकीय गन्तव्य समेटिएका छन् ।
सञ्चालक सञ्जय बजिमयका अनुसार, कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दीले सुस्ताएको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न यी प्याकेजहरूले मद्दत गर्नेछन् । “हामीले नेपाली पर्यटकहरुसँगै छिमेकी देश भारत र अन्य मुलुकका पर्यटकहरुलाई पनि सहज र सुलभ दरमा नेपालका सुन्दर ठाउँहरु घुमाउने तयारी गरेका छौँ,” उनले बताए
विशेष गरी सीमावर्ती क्षेत्रबाट आउने भारतीय पर्यटकहरुका लागि भैरहवालाई केन्द्र बनाएर विशेष भ्रमण तालिका बनाइएको हो ।
बजिमयले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पुनः नियमित र प्रभावकारी रुपमा सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरे । “कनेक्टिभिटी नै विकासको प्रमुख आधार हो,” उनले भने “अन्तर्राष्ट्रिय उडानहरूको निरन्तरता बिना पर्यटन क्षेत्रले अपेक्षित गति लिन सक्दैन ।”
उनले मार्च २५ मा एयर एसियाको अन्तिम उडान पश्चात विमानस्थल पुनः निष्क्रियजस्तै हुने अवस्थाप्रति चिन्ता व्यक्त गरे । यसले अन्तर्राष्ट्रिय आवागमनमा असर पार्ने र पर्यटन व्यवसाय प्रभावित हुने उनको भनाइ थियो ।
नेपाः ट्राभल्सले सेवा विस्तारका लागि प्रविधिमैत्री योजना अघि सारेको छ । कम्पनीले ७७ वटै जिल्लामा अनलाइन शाखा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । स्थानीय अनलाइन सेवा प्रदायकहरूसँग सहकार्य गर्दै स्वरोजगार सिर्जना गर्ने तथा पर्यटन व्यवसायमा नयाँ जनशक्ति आकर्षित गर्ने योजना रहेको पनि बजिमयले जानकारी दिए । साथै, ट्राभल्सले वार्षिक ६ प्रतिशत ब्याजदरमा साप्ताहिक क्रेडिट सुविधा र आवश्यक तालिमसमेत उपलब्ध गराउने जनाएको छ ।
बजिमयले वर्तमान स्थिर सरकार र सुशासनको वातावरणले निजी क्षेत्रको आत्मविश्वास बढाएको उल्लेख गर्दै पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधारका रुपमा विकास गर्न सकिने बताए । विशेषगरी भारत र चीनबाट आउने बौद्ध तीर्थयात्रीलाई लक्षित गरी “क्वालिटी टुरिस्ट” भित्र्याउने रणनीतिमा उक्त प्याकेज उपयोगी हुने विश्वास उनले व्यक्त गरे ।
पर्यटन व्यवसायी बजिमयले यस्ता सहुलियतपूर्ण योजनाले आन्तरिक पर्यटन चलायमान बनाउने, रोजगारी सिर्जना गर्ने तथा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरेका छन् ।