मर्चवार । रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले यस क्षेत्रको सर्वाङ्गीण विकास, मधेसी जनताको हकअधिकार र जगैदेखिको रूपान्तरणलाई आफ्नो मुख्य संकल्प बनाएको उद्घोष गर्नुभएको छ। जनता समाजवादी पार्टी नेपालद्वारा रुपन्देहीको परसहवामा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै नेता शुक्लाले विशेषगरी मर्चवारलगायत यस क्षेत्रको पिछडिएको अवस्थालाई अन्त्य गर्दै समृद्धिको नयाँ युग सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
कृषिप्रधान यस क्षेत्रका किसानहरूले लामो समयदेखि भोग्दै आएका समस्याहरूलाई उहाँले आफ्नो प्रमुख चुनावी एजेन्डा बनाउनुभएको छ। सम्बोधनका क्रममा उहाँले मलखादको हाहाकार, सिँचाइको असुविधा र किसानले आफ्नो उब्जनीको उचित मूल्य नपाउने जस्ता गम्भीर चुनौतीहरूको दीर्घकालीन समाधानका लागि संसद्मा नीतिगत पहल गर्ने प्रस्ट पार्नुभयो। राज्यबाट दिइने अनुदान र सुविधाहरू सोझै किसानको खेतबारीसम्म पुर्याउने, कृषिलाई आधुनिकीकरण गर्ने र युवाहरूलाई आफ्नै माटोमा स्वरोजगार बनाउने उहाँको स्पष्ट योजना रहेको छ।
विकास निर्माणका सन्दर्भमा शुक्लाले अधुरा रहेका सडक, पुलपुलेसा र ढल निकास जस्ता भौतिक पूर्वाधारका योजनाहरूलाई समयमै पूर्णता दिने दृढ अठोट व्यक्त गर्नुभयो। स्थानीयस्तरमै गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवा पुर्याउन प्राविधिक शिक्षालयको स्थापना र सरकारी अस्पतालहरूको स्तरोन्नति गर्ने उहाँको लक्ष्य छ। यसबाट स्थानीय बालबालिका र बिरामीहरूले सामान्य सेवाका लागि पनि टाढा धाउनुपर्ने बाध्यताको अन्त्य हुने उहाँले विश्वास दिलाउनुभयो। साथै, विकासका कार्यहरूमा हुने ढिलासुस्ती र भ्रष्टाचारलाई अन्त्य गर्दै पारदर्शी शासन प्रणाली र भ्रष्टाचारमुक्त प्रशासन सुनिश्चित गर्नु उहाँको उच्च प्राथमिकतामा रहेको छ।
मधेस र मधेसी जनताको पहिचान, उत्पीडित समुदायको अधिकार र वर्षौंदेखि अल्झिएको नागरिकता सम्बन्धी समस्या समाधानका लागि संसद्मा निर्भीक भएर सशक्त आवाज उठाउने प्रतिज्ञा नेता शुक्लाले गर्नुभएको छ। आफ्नो लामो राजनीतिक अनुभव, निष्ठा र रुपन्देही-४ को माटोसँगको गहिरो सामीप्यतालाई स्मरण गर्दै उहाँले आसन्न निर्वाचन केवल प्रतिनिधि छान्ने माध्यम मात्र नभई समग्र क्षेत्रको कायापलट गर्ने अवसर भएको बताउनुभयो। विकासप्रेमी, सरल र सधैँ जनताको सुख-दुःखमा साथ दिने नेताका रूपमा परिचित शुक्लाले आम मतदातालाई आफ्नो चुनाव चिह्नमा अत्यधिक बहुमतले मतदान गरी समग्र क्षेत्रको विकासका लागि एक पटक सेवा गर्ने मौका दिन विनम्र अपिल गर्नुभएको छ।