लुम्बिनी प्रेस क्लब, रुपन्देहीले बुद्ध जन्मस्थल लुम्बिनीमा ‘तेस्रो लुम्बिनी न्यूज फेस्टिबल–२०८२’ आयोजना गर्ने भएको छ । यही पुस १२, १३ र १४ गते चल्ने यो महोत्सवलाई यस पटक अन्तर्राष्ट्रिय स्वरूप दिने प्रयास गरिएको छ । २०७६ सालबाट सुरु भएको यो अभियान कोभिड महामारीका कारण केही सुस्त भए पनि यस वर्ष भव्यताका साथ सम्पन्न गर्ने तयारी छ । कार्यक्रमको तयारी, उद्देश्य र विशेषताबारे फेस्टिबलका संयोजक तथा लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालसँग विवेक विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश :
लुम्बिनी प्रेस क्लबले ‘तेस्रो लुम्बिनी न्यूज फेस्टिबल’ आयोजना गर्दैछ, यसको तयारी कहाँ पुग्यो ?
हामी अहिले कार्यक्रमको अन्तिम चरणको तयारीमा जुटेका छौं । बुद्ध जन्मस्थल लुम्बिनीमा यही पुस १२, १३ र १४ गते आयोजना हुन लागेको यो फेस्टिबलको तयारी करिब ८० प्रतिशत पूरा भइसकेको छ । व्यवस्थापन, अतिथि सत्कार र कार्यक्रमको रूपरेखा तयार पार्ने काम तीव्र गतिमा भइरहेको छ ।
न्यूज फेस्टिबलको अवधारणा कसरी आयो र यसको मुख्य उद्देश्य के हो ?
हामीले २०७६ सालमा पहिलो पटक उच्च स्तरको राष्ट्रिय कार्यक्रमको रूपमा यो फेस्टिबल सुरु गरेका थियौं । त्यसबेला लुम्बिनी प्रेस क्लबलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यसले निकै महत्वपूर्ण भूमिका खेलेको थियो । बीचमा कोरोना महामारीका कारण हामीले सोचेजस्तो भव्यता दिन सकेनौं । तर, यस पटकको संस्करणलाई थप व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउने हाम्रो लक्ष्य छ । लुम्बिनीको पर्यटन प्रवद्र्धन र पत्रकारिताको विकासमा जोड्नु नै यसको मुख्य उद्देश्य हो ।
यस पटकको फेस्टिबललाई अन्तर्राष्ट्रिय स्तरको भन्नुभयो, बाह्य सहभागिता कस्तो रहन्छ ?
हो, यस पटक हामीले छिमेकी मुलुक भारतका पत्रकारहरूलाई पनि विशेष आमन्त्रण गरेका छौं । भारतका विभिन्न ६ वटा प्रेस क्लबहरूबाट करिब २० देखि २५ जना पत्रकारहरूको सहभागिता रहने निश्चित भएको छ । यसले दुई देशबीचको पत्रकारिता र सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएका छौं ।
नेपालबाट चाहिँ क–कसको सहभागिता रहन्छ ?
काठमाडौँबाट प्रेस काउन्सिल नेपालका अध्यक्ष, नेपाल पत्रकार महासंघका अध्यक्षसहित राष्ट्रिय स्तरका विशिष्ट पत्रकारहरूको उपस्थिति रहनेछ । यसका साथै लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरू, जनप्रतिनिधिहरू, लुम्बिनी विकास कोषका पदाधिकारी, होटल व्यवसायी, निजी क्षेत्रका प्रतिनिधि र नागरिक समाजको पनि उल्लेख्य सहभागिता रहनेछ । पत्रकारितामा रुचि राख्ने विद्यार्थीहरूलाई पनि हामीले समेटेका छौं ।
तीन दिने कार्यक्रमको तालिका कसरी मिलाउनुभएको छ ?
हामीले कार्यक्रमलाई तीन दिनमा विभाजन गरेका छौं । पहिलो दिन अर्थात् पुस १२ गते पाहुनाहरूको स्वागत र साँझ दीप प्रज्वलन गरिनेछ । दोस्रो दिन पुस १३ गते बिहान ७ः३० बजेदेखि मुख्य कार्यक्रम सुरु भई दिनभर चल्नेछ, जसमा विभिन्न सत्रहरूमा छलफल हुनेछ । अन्तिम दिन पुस १४ गते क्लबको स्थापना दिवस पनि परेकाले सोही अवसरमा ‘पिस हेरिटेज वाक’ (शान्ति सम्पदा पदयात्रा) आयोजना गरेर कार्यक्रम समापन गरिनेछ ।
अन्त्यमा, सरोकारवालाहरूलाई के भन्न चाहनुहुन्छ ?
यो फेस्टिबल केवल पत्रकारहरूको मात्र नभई लुम्बिनीको विकास र पर्यटनसँग पनि जोडिएको विषय हो । तसर्थ, पत्रकारिता क्षेत्र, लुम्बिनीको विकासमा चासो राख्ने महानुभावहरू, विद्यार्थी तथा सम्पूर्ण सरोकारवालाहरूलाई यस ऐतिहासिक उत्सवमा सहभागी भई कार्यक्रम सफल बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
good