काठमाडौं । राष्ट्रिय सभा सदस्य
निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन गठबन्धन दलका शीर्ष नेताहरूले
साझा अपिल गर्ने भएका छन् ।
आगामी माघ ११ गते राष्ट्रिय सभाका
१९ सिटका लागि सातै प्रदेशमा निर्वाचन हुँदैछ । यो निर्वाचनमा प्रदेशसभाका सदस्य र
स्थानीय तहका प्रमुख, उपप्रमुख मतदाता
हुन्छन् । सबै मतदाता राजनीतिक दलकातर्फ बाटै निर्वाचित भएका हुने भएपनि गोप्य मतदान
हुने भएकाले गठबन्धनले निर्वाचन परिचालनलाई विशेष महत्व दिएको छ ।
त्यहीकारण गठबन्धनका उम्मेदवारलाई
निर्वार्चित गराउन शीर्ष नेताहरूले नै सार्वजनिक आह्वान गर्ने तयारी छ । शनिबार बसेको
गठबन्धनका नेता रमेश लेखक संयोजकत्वकोे निर्वाचन समन्वय समितिले शीर्ष नेताहरूलाई सार्वजनिक
अपिल गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।
आइतबार गठबन्धनको बैठक बस्दैछ
। समितिका एक सदस्यले भने, ‘यो बैठकपछि
नेताहरूले सार्वजनिक अपिल गर्नुहुन्छ ।’ गठबन्धनले प्रदेश र जिल्लास्तरमा समेत राष्ट्रिय
सभा निर्वाचन समन्वय समिति गठन गरेको छ भने शीर्ष नेताहरू समेत निर्वाचनका लागि प्रदेशमा
खटिने तयारी छ ।
यसपटक निर्वाचन हुन लागेका १९
सिटमध्ये गठबन्धनबाट कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा उम्मेदवारी दिएका
छन् ।