भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४, परसौनीस्थित श्री बसन्तपुर दशरथ जनता माध्यमिक विद्यालयमा नवनिर्मित १६ कोठे विद्यालय भवनको भव्यताका साथ समुद्घाटन गरिएको छ । विद्यालयमा निर्माण सम्पन्न भएका दुईवटा चार–कोठे र एउटा आठ–कोठे भवनको समुद्घाटनसँगै विद्यालयको शैक्षिक वातावरण थप सहज, व्यवस्थित र प्रभावकारी बन्ने विश्वास गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहित कुमार यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव प्रमुख अतिथिका रूपमा सहभागी भई नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले सामुदायिक विद्यालयलाई सबल र सक्षम बनाउनु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताउनुभयो । उहाँले विद्यालयमा भौतिक पूर्वाधारको विकास हुनु भनेको केवल भवन थपिनु मात्र नभई यसले विद्यार्थीको सिकाइ वातावरण, आत्मविश्वास र शैक्षिक उपलब्धिमा समेत प्रत्यक्ष प्रभाव पार्ने धारणा व्यक्त गर्नुभयो ।
ओमसतिया गाउँपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै क्रमशः सबै विद्यालयमा आवश्यक पूर्वाधार र शैक्षिक सुधारका कार्यक्रमहरू अघि बढाइरहेको उहाँले उल्लेख गर्नुभयो । त्यसैगरी, गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले बालबालिकाको भविष्य निर्माणमा शिक्षा निर्णायक तत्व भएको बताउँदै शिक्षा, अनुशासन र सुरक्षित विद्यालय वातावरणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
ओमसतियाले शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको चर्चा गर्दै उहाँले बसन्तपुर दशरथ जनता माविलाई अझ उत्कृष्ट बनाउन गाउँपालिका सदैव सकारात्मक रहेको बताउनुभयो । गाउँपालिका प्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष मदन प्रसाद पोख्रेलले विद्यालयलाई भविष्यमा नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको र शिक्षामा गरिएको लगानी कहिल्यै खेर नजाने बताउनुभयो ।
वडा नं. ६ का वडाध्यक्ष शिव कुमार धवल र वडा नं. ४ का वडाध्यक्ष अखिलेश्वर कुमार पाण्डेले सामुदायिक विद्यालयलाई मजबुत बनाउन सबै जनप्रतिनिधि एकजुट हुनुपर्ने र शिक्षा नै स्थानीय विकासको मेरुदण्ड भएको बताउनुभयो । उहाँहरूले जनप्रतिनिधिहरू भौतिक तथा शैक्षिक सुधारका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्दै अभिभावकहरूलाई आफ्ना बालबालिकाको शिक्षाप्रति थप सचेत हुन आग्रह गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहित कुमार यादवले समुदायको योगदान बिना आजको उपलब्धि सम्भव नहुने बताउँदै १६ कोठे भवन विद्यालयको मात्र नभई समग्र समाजको सम्पत्ति भएकाले अब शैक्षिक गुणस्तर र नैतिक शिक्षामा ध्यान केन्द्रित गरिने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक सफात अलिले नयाँ भवन निर्माणले विद्यार्थी संख्या वृद्धि, कक्षा व्यवस्थापन र अतिरिक्त शैक्षिक गतिविधिमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँपालिका र अन्य सहयोगीहरू प्रति आभार प्रकट गर्दै आगामी दिनमा शैक्षिक गुणस्तर सुधारमा प्रतिबद्ध रहने बताउनुभयो ।
कार्यक्रमकै अवसरमा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका जेहेन्दार तथा अनुशासित विद्यार्थीहरूलाई सम्मान गरिनुका साथै कक्षा १० मा अध्ययनरत दुई जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई साइकल समेत प्रदान गरिएको थियो ।
शिक्षक तथा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम मार्फत आफ्नो कला प्रस्तुत गरेको उक्त समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, शिक्षा शाखा प्रमुख, स्थानीय जनप्रतिनिधि, शिक्षाविद्, समाजसेवी, अभिभावक र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।