भैरहवा । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ स्थित भैरहवाको बाल मन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना गर्दै मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले निर्वाचनलाई स्वतन्त्र, शान्तिपूर्ण र कम खर्चिलो बनाउन राजनीतिक दलहरूसँग आग्रह गर्नुभयो । उहाँले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिँदै उल्लंघन भएमा कानूनी कारबाही हुने समेत बताउनुभयो ।
सोही अवसरमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले फागुन २१ गते हुने निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो । जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालका अनुसार शुक्रबार नै जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरिनेछ । रुपन्देहीमा २०९ मतदानस्थल र ७३२ वटा मतदान केन्द्र निर्धारण गरिएको छ भने फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने गरी कुल ६ लाख ७२ हजार ५ सय २३ जना मतदाताले मतदानमा भाग लिन पाउनेछन् ।