धकधई । रुपन्देही क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले युवा इन्जिनियर प्रज्जवल बोहरालाई चुनावी मैदानमा उतारेसँगै यहाँको राजनीतिक माहोलले नयाँ मोड लिएको छ । युवा र शिक्षित पुस्तालाई नेतृत्वमा स्थापित गर्ने उद्देश्यसहित नयाँ अनुहारलाई अघि सारेको राप्रपाले यस पटकको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने दाबी गरेको छ । राप्रपा रुपन्देहीका अध्यक्ष सागरप्रताप राणाले यस क्षेत्रलाई पार्टीको बलियो पकड क्षेत्र मान्दै सांगठनिक सुदृढताका कारण यसपालि जित सुनिश्चित रहेको बताएका छन् ।
राप्रपाले यस क्षेत्रमा जितको बलियो आकलन गर्नुको मुख्य आधार उम्मेदवार बोहराको प्राविधिक पृष्ठभूमि र उनको गौरवपूर्ण पारिवारिक विरासत हो । प्रज्जवल राप्रपाका दिवंगत एवं लोकप्रिय नेता दीपक बोहराका सुपुत्र हुन् । पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय रहेर गत २०७९ को निर्वाचनमा रुपन्देही–३ बाट विजयी भएका दीपक बोहराको प्रभाव सिङ्गो रुपन्देहीभरि गहिरो छ । हरेक बस्ती र टोलमा परिचित आफ्ना पिताको राजनीतिक उत्तराधिकारीका रुपमा प्रस्तुत गर्दै प्रज्जवलले पिताकै जनमुखी विरासतलाई आफ्नो मुख्य एजेन्डा बनाएर मतदातामाझ गइरहेका छन् ।
घरदैलो र चुनावी अभियानका क्रममा जनताको घरआँगनमा पुग्दा विगतका राजनीतिक नेतृत्वप्रति आम नागरिकमा चरम वितृष्णा पाएको उम्मेदवार बोहराले बताएका छन् । विगतका नेताहरूले आश्वासन र सपना मात्र बाँडेको तर काम नगरेको गुनासो गरिरहेका मतदाताहरू यसपटक नयाँ विकल्पको खोजीमा राप्रपाको चुनाव चिह्न 'हलो' प्रति आकर्षित भइरहेको उनको भनाइ छ । उम्मेदवार बोहराले सुशासन, प्राविधिक विकास, भ्रष्टाचार नियन्त्रण, स्थानीय रोजगारी, सामाजिक सशक्तीकरण, शिक्षा र स्वास्थ्यजस्ता जनचासोका विषयलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्, जसले गर्दा युवापुस्ता र आम मतदाताको ध्यान उनीमाथि केन्द्रित भएको छ ।
राप्रपाको उच्च मनोबलको अर्को महत्त्वपूर्ण आधार गत निर्वाचनको तथ्याङ्क र हालैका राजनीतिक समीकरणहरू हुन् । २०७९ सालको समानुपातिकतर्फको मत र स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका धेरै वडाध्यक्षसहित रोहिणी गाउँपालिकाको उपाध्यक्षमा प्राप्त जितले पार्टी पङ्क्तिलाई थप उत्साहित बनाएको छ । आफ्ना परम्परागत मतदातालाई सुरक्षित राख्दै ठूला दल र पुराना जनप्रतिनिधिप्रति रुष्ट मतदाता, युवा तथा स्वतन्त्र मत तान्ने स्पष्ट रणनीतिमा राप्रपा अघि बढेको छ । यसैबीच, चुनावी माहोल तातिँदै गर्दा रुपन्देहीको थारु समुदायमा राम्रो प्रभाव राख्ने नेता धनिराम चौधरीको राप्रपा प्रवेशले पार्टीको अवस्थालाई अझ बढी मजबुत र विजयोन्मुख बनाएको छ ।