मध्यविन्दु (नवलपरासी) । परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च गरेर गरिने धान रोपाइँ अहिले आधुनिक प्रविधिको प्रयोगसँगै सहज बन्दै गएको छ । कृषि क्षेत्रमा बढ्दो श्रमिक अभाव, उत्पादन लागतमा भएको वृद्धि र बदलिँदो मौसमको चुनौतीबीच धान रोप्ने मेसिनको प्रयोग किसानका लागि प्रभावकारी विकल्प बन्दै गएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा पछिल्ला केही वर्षयता कृषि यान्त्रीकरणले गति लिँदै जाँदा किसानको आकर्षण पनि बढ्न थालेको छ । मध्यविन्दु नगरपालिका–१ मा प्रकृति कृषि सहकारी संस्थामार्फत सञ्चालनमा रहेको धान रोप्ने मेसिनले केही घण्टामै ठूलो क्षेत्रफलमा रोपाइँ सम्पन्न गरिरहेको छ ।
परम्परागत विधिबाट दिनौँ लाग्ने काम मेसिनमार्फत छोटो समयमा सम्पन्न हुन थालेपछि किसान उत्साहित भएका छन् । मेसिनको प्रयोगले श्रमिकको आवश्यकता घट्नुका साथै रोपाइँ व्यवस्थित हुने, उत्पादन लागत कम हुने र समयको बचत हुने सहकारी संस्थाका सचिव ओमप्रसाद पाठकले बताउनुभयो । “खेतीपातीमा जनशक्ति अभाव हुँदै गइरहेको अवस्थामा आधुनिक प्रविधिले कृषि कार्यलाई सहज बनाएको छ”, उहाँले भन्नुभयो, “कम श्रम र कम समयमा बढी काम गर्न सकिने भएकाले कृषि यान्त्रीकरणप्रति किसानको विश्वास बढ्दै गएको छ ।”
मध्यविन्दु नगरपालिकाले कृषि उत्पादन वृद्धि र कृषिलाई व्यावसायिक तथा प्रविधिमैत्री बनाउन कृषि यान्त्रीकरणलाई प्राथमिकतामा राख्दै आएको नगरप्रमुख भिमलाल अधिकारीले बताउनुभयो । नगरपालिकाले धान रोप्ने मेसिन, कम्बाइन हार्भेस्टर, कृषि एम्बुलेन्सलगायतका आधुनिक कृषि उपकरण किसानलाई ८५ प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको नगर प्रमुख भीमलाल अधिकारीले जनकारी दिनुभयो । “कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्दै उत्पादन लागत घटाउने, उत्पादन वृद्धि गर्ने र युवालाई कृषि पेसाप्रति आकर्षित गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रम सञ्चालन भइरहेका छन्”, उहाँले भन्नुभयो ।
जिल्लामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइमार्फत गैँडाकोट नगरपालिकाका पाँच वडामा धान जोन कार्यक्रम सञ्चालनमा रहेको छ । कृषक समूहहरूले त्यहाँ पनि धान रोप्ने मेसिन प्रयोग गर्दै आएका छन् भने यस वर्ष कम्बाइन हार्भेस्टरसमेत उपलब्ध गराइएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा करिब १९ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ सञ्जय ढकालले जनकारी दिनुभयो ।
जिल्लामा पछिल्लो वर्षदेखि धान रोप्ने मेसिनलगायतका आधुनिक कृषि यन्त्रतर्फ किसानको आकर्षण र माग बढेको उहाँले बताउनुभयो । “कृषि क्षेत्रमा देखिएको श्रमिक अभाव, बढ्दो उत्पादन लागत र जलवायु परिवर्तनका चुनौतीका बीच आधुनिक प्रविधिको प्रयोग किसानका लागि आवश्यकता बन्दै गएको छ”, उहाँले भन्नुभयो, “खेतीपातीमा यान्त्रीकरणको विस्तारसँगै किसानको श्रम घट्नुका साथै कृषि पेसाप्रति आकर्षण पनि बढ्दै गएको छ ।”