तानसेन (पाल्पा) । चालु आर्थिक वर्षमा छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत निर्यात भएको छ । डिभिजन वन कार्यालय, पाल्पाका अनुसार आवमा तीन लाख ४७ हजार ९६९ किलो दालचिनी भारत निकासी भएको थियो । उक्त परिमाण पछिल्लो आवको तुलनामा सबैभन्दा बढी हो । आव २०७७/७८ मा १ लाख ९१ हजार ४१५ किलो दालचिनी भारत निर्यात भएको थियो । कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङले चालु आवमा १२ लाख ८८ हजार ४८२ किलो तेजपात पनि भारत निर्यात भएको बताउनुभयो ।
गत आवमा एक लाख २१ हजार १० किलो दालचिनी र आठ लाख ८१ हजार ७३१ किलो तेजपात निकासी भएको थियो । कार्यालयको तथ्याङ्कअनुसार आव २०८०/८१ मा एक लाख ७६ हजार ६९७ किलो, २०७९/८० मा एक लाख ८३ हजार ५९० किलो, २०७८/०७९ मा एक लाख ९० हजार २१४ किलो र २०७७/०७८ मा १ लाख ९१ हजार ४१५ किलो दालचिनी भारत निर्यात भएको हो । त्यसैगरी, तेजपात निर्यातमा पनि वृद्धि भएको छ । आव २०८०/०८१ मा सात लाख छ हजार ७९० किलो रहेको तेजपात निकासी गत वर्ष आठ लाख ८१ हजार ७३१ किलो पुगेको थियो । चालु आवमा बढेर १२ लाख ८८ हजार ४८२ किलो पुगेको कार्यालयले जनाएको छ । पाल्पामा उत्पादन हुने तेजपात र दालचिनीको प्रमुख बजार भारत हो ।
तेजपात र दालचिनी यहाँका नागरिकको प्रमुख आम्दानीको माध्यम बनेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठले बताउनुभयो । उहाँले किसानले तेजपात प्रतिकिलो रु ५० देखि ६० र दालचिनी प्रतिकिलो रु १०० मा बिक्री गर्दै आएका छन् भन्नुभयो । दालचिनी र तेजपातको उत्पादन तथा बजार विस्तारमा निरन्तरता दिनसके स्थानीय कृषकको आम्दानी वृद्धि हुनुका साथै जिल्लाको वनजन्य उत्पादनको निर्यात प्रवद्र्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।