गुल्मी । गुल्मीको तम्घासस्थित रेसुंगा माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई संसदीय प्रक्रिया र लोकतान्त्रिक अभ्यासबारे व्यवहारिक ज्ञान दिने उद्देश्यले प्रथम 'रेसुंगा नमुना संघीय संसद–२०८३' सम्पन्न भएको छ। विद्यालयको आयोजना तथा नेपाल प्रगतिशील युवा सञ्जालको सहयोगमा आयोजित उक्त कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूले वास्तविक संसद्कै शैलीमा भूमिका निर्वाह गरेका थिए।
कार्यक्रमको सुरुआत राष्ट्रपति, सभामुख, प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथग्रहणबाट भएको थियो। तत्पश्चात् सभामुखको अध्यक्षतामा सञ्चालित संसदमा प्रश्नोत्तर, शून्य समय, विशेष समय, नियमापत्ति र ध्यानाकर्षण प्रस्तावजस्ता संसदीय प्रक्रिया अघि बढाइएको थियो। विद्यार्थीहरूले किसानका समस्या, सडकको दुरावस्था, पहिरो नियन्त्रण, शिक्षा, स्वास्थ्य तथा सामाजिक सद्भावजस्ता समसामयिक राष्ट्रिय र स्थानीय विषयमा गहन छलफल गर्दै समाधानका उपायहरूसमेत प्रस्तुत गरेका थिए।
रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले प्रमुख अतिथिका रूपमा बोल्दै यस्ता अभ्यासले विद्यार्थीमा लोकतान्त्रिक संस्कार र भावी नेतृत्व विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। विद्यालयका प्रधानाध्यापक भागीरथ भण्डारीले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न र विधेयक निर्माण प्रक्रियाबारे स्पष्ट पार्न नमुना संसद प्रभावकारी माध्यम बनेको जानकारी दिनुभयो।
समारोहमा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। जसअन्तर्गत उत्कृष्ट राष्ट्रपतिका रूपमा मोहन बुढामगर, उत्कृष्ट प्रधानमन्त्रीका रूपमा सुस्मिता पाण्डे, उत्कृष्ट प्रधानन्यायाधीशका रूपमा निर्जला खनाल र उत्कृष्ट प्रमुख प्रतिपक्ष नेताका रूपमा अनिशा खत्रीसहित विभिन्न भूमिका निर्वाह गर्ने विद्यार्थीहरू सम्मानित भएका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जनप्रतिनिधि, शिक्षाविद्, शिक्षक र अभिभावकको बाक्लो उपस्थिति रहेको थियो।