मकवानपुर । क्षमताभन्दा बढी सिट जडान गरी सञ्चालन गरिएका चारवटा विद्युतीय सवारीसाधनमाथि प्रहरीले कारबाही गरेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चेकप्वाइन्टमा इलाका प्रहरी कार्यालय भीमफेदी र ट्राफिक प्रहरीसहित खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा सवारी दर्ता किताबमा उल्लेखित क्षमताभन्दा बढी सिट जडान गरिएका गाडी फेला पारी कारबाही गरेको हो ।
तोकिएको १४ सिट क्षमताभन्दा थप चार/चारवटा सिट जडान गरी सञ्चालन गरिएको पाइएपछि बा.प्र.०८–००१ ज ००४२, बा.प्र.०१–००२ ज ६२३९, बा.प्र.०१–००२ ज ७००६ र बा.प्र.०१–००२ ज ६९८१ नम्बरका विद्युतीय गाडीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ४३ को उपदफा (१) विपरीत कार्य गरेको कसुरमा सोही ऐनको दफा १९४ को उपदफा (२) (ख) बमोजिम प्रतिगाडी रु १० हजारका दरले जम्मा रु ४० हजार जरिवाना गरिएको छ । साथै, स्थानीय सञ्चारकर्मीहरूको रोहबरमा ती गाडीमा जडान गरिएका अतिरिक्त सिटसमेत निकालिएको छ ।