बाजुरा । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै स्थानीयका समस्या तथा गुनासा प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बाजुराले दुर्गम बस्तीमै पुगेर नागरिकसँग अन्तरक्रिया गरेको छ । यसै क्रममा जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराले जिल्लाको बुढीनन्दा नगरपालिका–४ स्थित दुर्गम बस्ती सिमकुरु पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा छलफल गर्नुभएको छ ।
स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, बुद्धिजीवी, समाजसेवी, युवा तथा सर्वसाधारणको सहभागितामा आयोजित उक्त कार्यक्रममा शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध दुर्व्यसन, घरेलु तथा महिला हिंसा र साइबर सुरक्षा लगायतका विषयमा छलफल गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले आ–आफ्ना क्षेत्रका समस्या, गुनासा, जिज्ञासा तथा सुझावहरू प्रस्तुत गरेका थिए । नागरिकका गुनासा ध्यानपूर्वक सुन्दै डीएसपी बोहराले समाजमा दिगो शान्ति सुरक्षा कायम गर्न प्रहरी र समुदायबीच आपसी विश्वास, सहकार्य र समन्वय अपरिहार्य रहेको बताउनुभयो । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रहरीको एकल प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै उहाँले नागरिकको साथ, सहयोग र सक्रिय सहभागिता पनि उत्तिकै महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।
दुर्गम बस्तीमै पुगेर नागरिकका आवाज सुन्ने, समस्या बुझ्ने र सुरक्षा सचेतना अभिवृद्धि गर्ने यस्तो पहलले प्रहरीप्रतिको जनविश्वास बढाउनुका साथै प्रहरी–नागरिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । नागरिकको सुख–दुःखमा सधैँ अग्रपङ्क्तिमा रहेर सेवा दिँदै आउनुभएकी डीएसपी बोहरा बाढी, पहिरो जस्ता विपद्का घटनामा आफैँ कार्यक्षेत्रमा खटिएर उद्धार तथा राहतमा सक्रिय हुने अब्बल प्रहरी अधिकृतका रूपमा परिचित हुनुहुन्छ । जिल्लामा शान्ति सुरक्षा कायम गर्न उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा उहाँलाई नगदसहित विशेष सम्मान समेत गरिएको थियो ।
भौगोलिक विकटता, सीमित स्रोतसाधन, दुर्गम बाटो र प्रतिकूल मौसमका बीच कार्यसम्पादन गर्नु बाजुराजस्तो हिमाली जिल्लामा खटिने सुरक्षाकर्मीका लागि चुनौतीपूर्ण मानिन्छ । तर, तिनै चुनौतीलाई अवसरमा बदल्दै डीएसपी बोहराले प्रहरी सङ्गठनभित्र आफ्नो कुशल नेतृत्व र कार्यक्षमता बलियोसँग प्रमाणित गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा पहिलो पटक महिला प्रहरी अधिकृतका रूपमा जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हाल्नुभएकी बोहराको कार्यशैलीले जिल्लावासीमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।