रुकुम । अखिल (क्रान्तिकारी) रुकुम पूर्वका अध्यक्ष चन्द्र रसाइलीले विजयादशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा आयोजित एक कार्यक्रममा धर्म, जात र समुदायका भेदभाव नगरी सबै पर्वलाई साझा उत्सवका रूपमा मनाउनुपर्नेमा जोड दिएका छन् । उनले यी पर्वहरू समग्र नेपालीको साझा संस्कार भएको भन्दै सबैलाई एकताबद्ध भएर मनाउन आग्रह गरे।
रसाइलीले पार्टी र आन्दोलनलाई नयाँ पुस्ताले अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले धर्मनिरपेक्षता र समाजवादको लक्ष्य युवा पुस्ताको हातमा हस्तान्तरण गर्नुपर्ने विचार व्यक्त गर्दै विचार र नयाँ सोचका आधारमा पार्टीलाई समयअनुसार अघि बढाउनुपर्ने बताए।
२०६२/६३ को जनआन्दोलनपछि मात्र समाजवाद स्थापना हुने धारणालाई अव्यावहारिक भन्दै उनले चिया पिउँदैमा समाजवाद नपुग्ने र नयाँ तरिकाले अगाडि बढ्नुपर्नेमा जोड दिए। उनका अनुसार युवापुस्ताको भावना समेटेर व्यवहारिक कदम चाल्न नसकेसम्म समाजवादको लक्ष्य हासिल गर्न कठिन छ। रसाइलीले पार्टीभित्र सकारात्मक र नकारात्मक पक्षको स्पष्ट पहिचान गरी राम्रोलाई राम्रो र गलतलाई गलत भन्न सक्ने संस्कार विकास नगरेसम्म संगठन सुदृढ नहुने बताए।
उनले नयाँ पद्धति र कार्यशैली नअपनाए पार्टीभित्रै संघर्ष चर्किन सक्ने चेतावनी दिँदै सामूहिक कामको आवश्यकता औंल्याए। उनले विद्यार्थीलाई संगठनमा सक्रिय बनाउने जिम्मेवारी नेतृत्वले लिनुपर्ने र युवालाई आर्थिक आत्मनिर्भरता तथा वैचारिक दृढतामा अघि बढाउनुपर्नेमा जोड दिए। रसाइलीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण नगरेसम्म आन्दोलनको उद्देश्य अपूरो रहने स्पष्ट पार्दै रुकुम पूर्वलाई केवल ‘माओवादी जिल्ला’का रूपमा मात्र सीमित नसोची समाजवादलाई व्यवहारिक बनाउन सबै अग्रसर हुनुपर्नेमा जोड दिए।