भैरहवा । रुपन्देहीको नेपाल भारत सीमा नाका बेलहियामा जथाभावी भारतीय नम्बर प्लेटको सवारीसाधन पार्किङ गरिएपछि ती सवारीसाधन हटाउन सुरु गरिएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित भैरहवा भन्सार कार्यालयदेखि उत्तर-पश्चिम राजमार्गको छेउछाउमा भारतीय नम्बर प्लेटको यात्रुबाहक सवारीसाधनहरु अनावश्यक पार्किङ गरिएकाले हटाउन सुरु गरिएको सिद्धार्थनगर–१ का वडाअध्यक्ष उज्जवल पोखरेलले बताए ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलहिया र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा मंगलबार (हिजो) देखि अव्यवस्थित रुपमा पार्किङ गरी राखिएका सवारीसाधन हटाउन सुरु गरिएको वडाअध्यक्ष पोखरेलले बताए ।
‘जथाभावी पार्किङ गरी सवारीसाधनमा यात्रु भर्ने कार्य भइरहेकोले सवारीसाधनको जाम लाग्दा दुर्घटना हुने सम्भावना भएको नागरिकको गुनासो रहेकोले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई हटाउन अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलहियालाई पत्र पठाइएको र हिजोदेखि हटाउने कार्य सुरु गरिएको हो, ’उनले भने ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलहियाका प्रमुख प्रहरी सहायक निरीक्षक युवराज सेनले भारतीय नम्बर प्लेटका सवारीसाधनहरुको अव्यवस्थित पार्किङका कारण दुर्घटना हुने सम्भावना बढेको वडा कार्यालय र स्थानीयबासीबाट गुनासो आएपछि ती सवारीसाधन हटाउन सुरु गरिएको बताए । उनले सीमा नाकामा दैनिक कम्तीमा ७–८ वटा भारतीय सवारीसाधन अव्यवस्थित रुपमा पार्किङ गरेर यात्रुहरु बोक्ने र त्यसले ट्राफिक व्यवस्थापनमा समेत समस्या सिर्जना भएपछि हटाउन सुरु गरिएको बताए ।
उनले भने, ‘यसअघि पनि अनावश्यक रुपमा पार्किङ नगर्न भारतीय सवारीसाधनलाई सम्झाईबुझाई गरिएको थियो । तर, अटेर गरेपछि हटाउन सुरु गरिएको छ । ’उनले यो कार्यले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।