जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुलुकमा इटा उत्पादनमा मधेश प्रदेश अग्रणी रहेको बताएका छन्। नेपाल इट्टा उद्योग महासंघ, मधेश प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभाको आज जनकपुरधाममा उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले उखु, आँप, माछा र धान लगायत को उत्पादनमा जस्तै इटा उत्पादनमा पनि मधेश प्रदेशको योगदान प्रमुख रहेको बताए ।
मुलुकभर रहेका करिब १३ सय इट्टा उद्योगमध्ये ७ सय मधेश प्रदेशमा रहेको र तीमध्ये हाल ३२० भन्दा बढी उद्योग सञ्चालनमा रहेको जानकारी उनले दिए । मुख्यमन्त्री सिंहले मधेश प्रदेशवाट संघीय सरकारलाई सबैभन्दा बढी राजस्व जाने गरेको भए पनि सोअनुसार बजेट प्राप्त नभएको गुनासो गर्दै प्रदेश सरकारको भागको कर बुझाउन स्थानीय तहहरुलाई आग्रह गरे।
“निकासी पैठारी, खोला र मनोरञ्जन लगायतका कर उठाउने पालिकाहरुले उठेको करवाट ४० प्रतिशत प्रदेश सरकारमा पठाउनुपर्ने हो तर पठाएको छैन। प्रदेश सरकारको भाग बुझाउन आग्रह गर्दछु,” उनले भने। सिंहले ईटा उद्योगीहरुलाई पनि प्रदेश सरकारले तोकेको न्युनतम मापदण्ड पुरा गर्नुपर्ने आवश्यकता औंल्याए । उद्घाटन समारोह महासंघका अध्यक्ष संजिव साहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जनकपुरधामका मेयर मनोज साह, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुण प्रधानलगायतका वक्ताहरुले आ–आफ्ना धारणा राखेका थिए ।