भैरहवा । फागुन १३ गते देखि २० गते सम्म सञ्चालन हुने दादुरा रुबेला खोप अभियानको तैयारीले ओमसतिया गाउँपालिकामा तिव्रता लिएको छ । अभियानको क्रममा पालिकाका शत प्रतिशत बालबालिकालाई सहभागी गराउने उद्देश्य सहित यसको प्रचार प्रसार तिव्र बनाईएको छ ।
बिहिबार गाउँपालिकाको कार्यालयमा आयोजित पालिका स्तरिय अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरु अभियानका क्रममा पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । अभियान सुरु हुनु अघि बालबालिका तथा उनिहरुका अभिभावकलाई जानकारी गराउन देखि अभियानका दौरान खोप केन्द्र सम्म उनिहरुलाई ल्याउन सहजीकरण गर्ने वडा नम्बर ४ का वडा अध्यक्ष अखिलेश्वर पाण्डेले बताए । खोप धेरै संवेदनशिल रहेको छ जानकारी आएको छ,” पाण्डेले भने “कतिपय बालबालिका अशक्त एवम पूण अपाङ्ग रहेका छन्, यस्ता बालबालिकाहरुलाई हामीले नै ब्यवस्थापन गरेर खोप केन्द्र सम्म ल्याउने छौं ।”
ओमसतिया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञवालीले अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न सबै टोली लागि परेको बताए । उनले स्वास्थ्यकर्मि, खोप लगायने स्वास्थ्यकर्मि, बिद्यालयका प्रधानअध्यापक देखि यसमा सहयोग गर्ने जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयं सेविका लगायतलाई अभिमुखीकरण गरिएको बताए । यस्तै जिल्ला स्वास्थ्य कार्यालयबाट प्रचार सामाग्री प्राप्त भएको बताउदै उनले अब घर घरमै निमन्त्रणा दिने काम गर्ने बताए ।
रुपन्देही जिल्लामा दुई चरणमा दादुरा खोप अभियान सञ्चालन हुदैछ । पहिलो चरणमा ओमसतिया सहित जिल्ला ९ वटा पालिकामा फागुन १३ गते देखि १७ गते सम्म र दोश्रो चरणमा बाँकी पालिकामा फागुन २० गते देखि २४ गते सम्म अभियान सञ्चालन गरिदै छ । ९ महिना देखि १५ बर्ष सम्म बालकालिकाहरुलाई दादुरा रुबेला रोगबाट जोगाउन अनिवार्य रुपमा खोप दिईने ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्रीले बताए । उनले पालिकामा करिब ११ हजार बालबालिका रहेको बताउदै शत प्रतिशत बालबालिकाहरुलाई खोप दिने प्रयास रहने बताए ।
अभियान अन्र्तगत लक्षित उमेरका बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाएर उक्त रोग बिरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरि रोग संक्रमण हुन सक्ने सम्भावनालाई न्यूनिकरण गर्ने लक्ष्य रहेको छ । यस्तै सोही अवधिमा ५ बर्ष मूनिका बालबालिकाहरुको नियमित खोपको अवश्था पहिचान गरेर छुट नियमित खोपको मात्रा लगाउन सहजीकरण समेत गरिने क्षेत्रीले बताए ।
तराईका जिल्लाहरु दादुराको जोखिममा धेरै रहेको र यसबाट ज्यान समेत जान सक्ने भएकोले यसबाट जोगिन अभियानमा सबैलाई साथ दिन गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव (सोनु)ले आग्रह गरे । “अझै पनि दादुरा रोगलाई लिएर गाउँघरमा धेरै अफवाहहरु रहेको छ, यो अभियानले त्यसलाई पनि चिर्ने अपेक्षा रहेको छ ।” यादवले भने
उनले बिद्यालय नजाने उमेरका तथा अन्य पालिकाका बिद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई अभिभावकलाई बिशेष ध्यान आग्रह गरेका छन् ।
सरकारले दादुरा रुबेला रोगलाई सन २०२६ सम्म निवारण गर्ने लक्ष्य सहित दादुरा रुबेला खोप अभियान सञ्चालन गर्दैछ ।