मुख्य समाचार
पाल्पामा सडक दुर्घटना उद्धार सम्बन्धी कृत्रिम अभ्यास सम्पन्न | ढिकी–जाँतोे विस्थापित हुँदा मौलिकता हराउने चिन्ता | भैरहवामा ‘भैरहवा दशैं महोत्सव–२०८३’ आयोजना हुने | बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो | जुम्लामा आज सार्वजनिक बिदा | मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ | कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा | भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई | हुम्लामा हिमपातले जनजीवन प्रभावित | कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक |
मुख्य समाचार
पाल्पामा सडक दुर्घटना उद्धार सम्बन्धी कृत्रिम अभ्यास सम्पन्न | ढिकी–जाँतोे विस्थापित हुँदा मौलिकता हराउने चिन्ता | भैरहवामा ‘भैरहवा दशैं महोत्सव–२०८३’ आयोजना हुने | बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो | जुम्लामा आज सार्वजनिक बिदा | मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ | कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा | भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई | हुम्लामा हिमपातले जनजीवन प्रभावित | कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक |


गुल्मीको रिडीमा माघे सङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी पूरा

Ujyalosandeshonline 12473+ समाचार ( )
१ माघ २०८२, बुधवार

गुल्मी । यहाँको पवित्र धार्मिकस्थल रिडीमा प्रत्येक वर्षझैँ यस वर्ष पनि माघे सङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मेलाको तयारी पूरा भएसँगै आजदेखि रुरुक्षेत्रमा आउने व्यापारी र श्रद्धालुको चहलपल सुरु भएको छ । गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरुक्षेत्रको रिडी धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । रिडीमा आयोजना हुने मेलाले देशभरका धार्मिक पर्यटकलाई आकर्षित गर्दै आएको छ ।

मेलालाई व्यवस्थित बनाउन कालीगण्डकीमा स्नानघाटको सरसफाइ गरी नुहाउनका लागि थप सहज बनाइएको छ । बालउद्यान, हस्तकला तथा कृषि सामग्री प्रदर्शनीस्थल, यातायात व्यवस्थापन, शौचालय निर्माण, खोला तर्नका लागि अस्थायी पुल निर्माण, पर्यटक हब बनाउनका लागि खोला थुनेर रुरुताल निर्माण, सांस्कृतिक कार्यक्रमको लागि मञ्च व्यवस्थापन, व्यापारका लागि आवश्यक स्टल निर्माणलगायत सम्पूर्ण संरचना निर्माणका काम तयारी भइसकेको गुल्मी उद्योग वाणिज्य सङ्घ रिडी शाखाका अध्यक्ष एवं मेला व्यवस्थापन समितिका संयोजक ताराप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

कालीगण्डकी र रिडी खोलाको सङ्गमस्थल रिडी क्षेत्र हिन्दु धर्मावलम्बीका लागि विशेष तीर्थस्थलका रूपमा परिचित छ । माघे सङ्क्रान्तिका अवसरमा यहाँ स्नान, दान तथा पूजाआजा गरे पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण गुल्मी, पाल्पा, स्याङ्जा, बागलुङ, अर्घाखाँचीलगायत छिमेकी जिल्लाबाट मात्र होइन, काठमाडौँ, पोखरा, बुटवलजस्ता ठूला सहर तथा भारतका विभिन्न स्थानबाटसमेत श्रद्धालुको उल्लेख्य उपस्थिति हुने गर्दछ । 

रुरुक्षेत्र गाउँपालिका मुख्य संरक्षक रहेको उक्त मेला उद्योग वाणिज्य सङ्घ रिडी शाखाको आयोजनामा छ दिनसम्म सञ्चालन हुन लागेको हो । रूरूक्षेत्रलाई ऋषिहरुको तपोभूमिका रूपमा चिनिन्छ । सक्रान्तिको दिन तीन जिल्लाको सङ्गमस्थल कालीगण्डकी नदीमा स्नान गरी नजिकै रहेको भगवान हृषीकेषको मन्दिरमा पूजाआजा र दर्शन गर्नाले देव ऋण, पितृ ऋण र ऋषि ऋणबाट मुक्त हुने जनविश्वास रहिआएको छ । कालीगण्डकीमा स्नान गर्नाले आफूले अञ्जानमा गरेका सम्पूर्ण पाप नष्ट भई मोक्ष प्राप्ति हुन्छ भन्ने जनविश्वास छ । 

रुरुक्षेत्र नेपालकै चारधाम मध्यको एक धाम मानिन्छ । रिडी मेलामा विशेषगरी हातबाट बुनेका कम्बल, काम्ला, राडीपाखीलगायत बाँस तथा चोयाबाट निर्मित सामग्रीका साथै ओखरका घाँजी, गुड, सुन्तलालगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । माघे सङ्क्रान्तिको अवशरमा आयोजना हुने मेलामा व्यापारका लागि प्यूठान, बागलुङ, रुकुम, रोल्पालगायतका ठाउँबाट व्यापारी यतिबेला रिडी आइपुगेका छन् ।

मेला अवधिभर स्थानीय एवं राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुतिसमेत राखिने भएको छ । रिडी क्षेत्रको प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्वले गर्दा यो क्षेत्र पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण गन्तव्यका रूपमा विकसित हुँदै जान थालेको छ । माघे सङ्क्रान्ति मेलाले यस क्षेत्रको पहिचानलाई राष्ट्रियस्तरमा थप उजागर गर्ने विश्वास लिइएको छ । आयोजकले मेलालाई भव्य, सभ्य, सुरक्षित र व्यवस्थित बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको जनाउँदै सम्पूर्ण श्रद्धालुलाई सहभागिताका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार