बुटवल । बुटवल सुनचाँदी व्यवसायी संघ रुपन्देहीको छैठौं वार्षिक साधारण सभामा सहभागी व्यवसायीहरूले सुनचाँदीको लगातारको मूल्यवृद्धि र सरकारी नीतिका कारण व्यवसाय संकटमा परेको गुनासो गरेका छन् । बुटवलमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले देशको अस्थिर राजनीति, विश्व बजारमा बढेको सुनको भाउ, भ्याट तथा २ प्रतिशत विलासिता कर जस्ता कारणले व्यवसायीहरू विस्थापित भएर विकल्प खोज्नुपर्ने बाध्यता आएको बताए । नेपाली ग्राहकको क्रयशक्तिभन्दा सुनको मूल्य उच्च हुनु र बजारमा चर्को प्रतिस्पर्धा हुनुले व्यवसाय सञ्चालनमा थप कठिनाइ सिर्जना भएको उनीहरूको भनाइ छ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ध्रुवकुमार गहतराजले राज्यले कर निर्धारण र अनुगमनका नाममा सञ्चालक तथा परिवारको समेत खाता हेर्ने जस्ता कार्य गरेको प्रति असन्तुष्टि जनाउनुभयो। उहाँले माघ १ गतेदेखि लागू हुने गरी ५ लाखभन्दा बढीको बिल नहुने सरकारी बन्देजले व्यवसाय नै ठप्प हुन सक्ने भन्दै गम्भीर हुन आग्रह गर्नुभयो। त्यस्तै, महासंघका केन्द्रीय सदस्य दीपककुमार विश्वकर्माले सरकारी कोटाले मात्र सुनको माग धान्न नसकेको बताउँदै सरकारले व्यवसायीका समस्या सुनुवाइ नगरे कडा आन्दोलनमा उत्रनुपर्ने चेतावनी दिनुभयो। संघका अध्यक्ष गोकुल विश्वकर्माको अध्यक्षतामा सम्पन्न उक्त सभामा उहाँले संस्थाको प्रगति विवरण पेस गर्दै व्यवसायीको हकहित र सामाजिक उत्तरदायित्वमा संघले खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो।