समाजसेवादेखि नीति निर्माणसम्म : ज्ञानु पौडेलको यात्रा

Ujyalosandeshonline 11236+ समाचार ( )
११ पौष २०८२, शुक्रबार

रुपन्देहीको सामाजिक र सहकारी क्षेत्रमा एक परिचित नाम हो— ज्ञानु पौडेल । ’ज्ञानु’ अर्थात् जानकार र स्वतन्त्रताको खोजी गर्ने व्यक्तित्व । भैरहवालाई कर्मथलो बनाएकी पौडेलले लामो समयदेखि महिला अधिकार, सुशासन र सहकारीमार्फत समाज रूपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ । अहिले उहाँ आफ्नो यही अनुभवलाई राष्ट्रिय राजनीतिमा जोड्न प्रयासरत हुनुहुन्छ । प्रस्तुत छ, उहाँको कार्यअनुभव र भावी योजनाका सन्दर्भमा विवेक विश्वकर्माले गर्नुभएको कुराकानीको सम्पादित अंश : 

तपाईँलाई समाजले एक ’सशक्त महिला नेतृ’ का रूपमा चिन्दछ, तपाईँको सामाजिक यात्रा कसरी अगाडि बढ्यो ?

मेरो यात्रा नाम जस्तै काम गर्ने लक्ष्यका साथ सुरु भएको हो । मैले जिल्ला स्थानीय शान्ति समिति रुपन्देहीको संयोजक, नमुना एकीकृत विकास परिषद्को अध्यक्ष र भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्था रुपन्देहीको अध्यक्ष भएर काम गर्ने अवसर पाएँ । यी भूमिकाहरूले मलाई समाजका तल्लो तहका समस्या र भ्रष्टाचारका स्वरूपहरू बुझ्न मद्दत ग¥यो । महिला तथा बालबालिका अधिकार जिल्ला सञ्जालको अध्यक्षका रूपमा मैले पीडितहरूको न्यायका लागि पनि लामो पैरवी गरेकी छु ।

तपाईँले सहकारी क्षेत्रमा पनि ठुलो सञ्जालको नेतृत्व गर्नुभएको छ, त्यसको अनुभव कस्तो रह्यो ?

हो, मैले ३९ हजारभन्दा बढी सदस्यहरू भएको देशकै चर्चित जनउत्थान सहकारीको नेतृत्व सम्हाल्ने अवसर पाएँ । सहकारीमार्फत सदस्यहरूलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र आत्मनिर्भर बनाउन हामीले ठुलो काम गरेका छौँ । मेरो यो योगदानका लागि २०७६ सालमा ’नेपस्कुन’ बाट उत्कृष्ट अध्यक्षको पुरस्कार समेत प्राप्त गरेकी छु ।

कोभिड–१९ र अन्य विपद्का बेला तपाईँको भूमिका निकै चर्चामा रह्यो, त्यसबेला के–के गर्नुभयो ?

संकटको बेला नै समाजको वास्तविक सेवा चाहिन्छ । कोभिड महामारीमा मैले भैरहवास्थित आफ्नै व्यावसायिक प्रतिष्ठानमा आइसोलेसन केन्द्र सञ्चालन गरेँ, जुन सम्भवत ः भैरहवाकै पहिलो निजी क्षेत्रको प्रयास थियो । यस्तै, निषेधाज्ञाको समयमा किसानको ४५ लाख बराबरको तरकारी कुहिन नदिन ‘कृषि एम्बुलेन्स’ मार्फत उपभोक्ताको घरघरसम्म पु¥याउने कामको नेतृत्व पनि मैले गरेँ। भूकम्प र अन्य प्राकृतिक विपद्मा पनि राहत र उद्धारमा म सधैँ अग्रभागमै रहेँ ।

तपाईँको शैक्षिक पृष्ठभूमि र अन्तर्राष्ट्रिय अनुभवले राजनीतिमा कस्तो प्रभाव पार्ला ?

मैले सुर्खेत शिक्षा क्याम्पसबाट बी.एड. गरेकी छु । अध्ययनसँगै अनुभवले पनि धेरै कुरा सिकाउँदो रहेछ । मैले जापान, स्विजरल्याण्ड, अस्ट्रेलिया, अमेरिका, जर्मनी र फ्रान्स लगायत दर्जनौँ देशहरूको भ्रमण गरेर त्यहाँको विकास र पद्धतिलाई नजिकबाट हेरेकी छु । यी अनुभवहरूलाई नेपालको नीति निर्माणमा प्रयोग गर्ने मेरो योजना छ ।

अहिले तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा हुनुहुन्छ, तपाईँका मुख्य एजेन्डाहरू के हुन ?

मेरो मुख्य लक्ष्य भनेकै सुशासन र समृद्ध राष्ट्र निर्माण हो । सदनमा पुगेर म जनताको विश्वासिलो आवाज बन्न चाहन्छु । विशेष गरी महिला हिंसा र यौन हिंसा विरुद्धको शून्य सहनशीलता, सहकारीको सही परिचालन, र युवाहरूलाई स्वदेशमै उत्पादनसँग जोड्ने नीतिगत पैरवी मेरो प्राथमिकतामा रहनेछ । राष्ट्रपतिबाट दुई पटक ’सुप्रबल जनसेवा’ पदक पाएको र दक्षिण एसियाली स्तरको लैंगिक समानता पुरस्कार जितेको मेरो यो ’सामाजिक पुँजी’ लाई अब राष्ट्र निर्माणमा लगाउने बेला आएको छ ।

अन्त्यमा, मतदाताहरूलाई के भन्न चाहनुहुन्छ ?

मैले दशकौँसम्म समाजको सेवा गरेकी छु । अब मलाई नीति निर्माणको तहमा पुगेर काम गर्ने अवसर चाहिएको छ । मेरो क्षमता, योग्यता र अनुभवलाई विश्वास गरेर मलाई मतदान गर्न म सम्पूर्ण मतदाता महानुभावहरूमा हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार