Logo

सक्रौनपकडी स्वास्थ्य चौकी आफ्नै भवनमा सञ्चालन

ujyalosandesh online १७ जेष्ठ २०८०, बुधबार २२:३६ मा प्रकाशित

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा स्वास्थ्य चौकी आफ्नै भवनमा सञ्चालनमा आएको छ । कोटहीमाई–२ स्थित सक्रौनपकडी स्वास्थ्य चौकीको नवनिर्मित भवनको एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले उद्घाटन गरेका हुन् ।

अहिलेसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको स्वास्थ्य चौकीले अब आफ्नै भवनबाट सेवा दिने गाउँपालिका अध्यक्ष त्रिपाठीले बताए । उनले गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदानको लागि सबैको साथ, समन्वय र सहयोगको आवश्यकता रहेको बताए । स्वास्थ्य क्षेत्रमा खटिने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरुको सेवा सुविधाप्रति गम्भिर रही कुनै कमी हुन नदिन उनले आग्रह गरे । स्वास्थ्य चौकीबाट दिने सेवासुविधाप्रति गुनासो आउन नदिने गरी काम गर्नुपर्ने उनको भनाइ छ । उनले भने ‘स्वास्थ्य क्षेत्रलाई प्रतिकूल असर पार्ने गरी कोरोना महामारीबाट प्रभावित भइ संकटग्रस्त अर्थतन्त्रको सामना गरिरहेका छौं । आम नागरिकहरुको स्वास्थ्यप्रति जिम्मेवार हुनुपर्दछ ।’

त्यस्तै कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादवले महिला स्वास्थ्य स्वयंसेविकाहरुको सेवासुविधामा कुनै कमी हुन नदिन बताइन् । उनले स्वास्थ्यकर्मी जस्तै महिला स्वास्थ्य स्वयंसेविकाहरु पनि दिनरात खट्ने भएकाले उहाँहरुलाई सम्मानजनक सेवासुविधा प्रदान गरिने बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले सबैको प्रयासबाट २८ वर्षपछि स्वास्थ्य चौकी आफ्नै भवनबाट सञ्चालन भएको बताए ।

करिब ४३ लाखको लागतमा निर्माण भएको उक्त भवनमा ओपिड कक्ष, गर्भवती जाँच कक्ष, कार्यालय प्रमुख कक्ष, शौचालय, किचेनलगायतको व्यवस्थापन गरिएको छ ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख रामनिवास यादव, समाजसेवी गुरुवचन यादव, जयचन्द यादव, रामजीवन मौर्य, महिला स्वास्थ्य स्वयंसेविका मंगला थारु लगायतले बोलेका थिए ।

कोटहीमाई–२ का वडाध्यक्ष अमरनाथ यादवको अध्यक्षता, स्वास्थ्य चौकी प्रमुख घनलाल अर्यालको स्वागत तथा मर्यादपुर स्वास्थ्य चौकी प्रमुख मनबहादुर कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार